– रजनी ढकाल-
विभेदबाट लखेटिएको
विगतलाई बिर्सिँदै
आफ्नै साहसले कुँदेकी छु पाइलाहरू
मेरो नाउँसँग जोडिएको थर
किन खोज्दै हिँड्छौ ?
बिर्सिसकेकी छु मैले त
आफ्नै नाम पनि
लक्ष्मी मालीको “आमा तिम्रो नाम के हो ?” कविताजस्तै
नाममुक्त भएकी छु आज
अक्षरका डोबहरूमा
हरफका डिकोहरूमा
स्वतन्त्रताको बिगुल फुक्ने सानो चेतना
बिउँझाएको हो यही समयले
सानैदेखि
तुलामा कम जोखिएकी म
एक गिलास दूध दिँदा
भीरमा पोखिएको अनुभव गर्ने
तिम्रो विभेदी मन
मीठो र चोखोमा सधैँ छुट्याएकै हो
बानी पर्दा पर्दै
अभाव, आहत र असुरक्षामा
आफैँसँग बनिसकेछ ऊर्वरा भूमि
मेरा हरेक स्वतन्त्र रहरमा
‘छोरी भएर पनि’ भन्ने तिम्रो उपवाक्य
आज जीवन काव्यको ठेली बनेछ
हो, त्यहीँबाट
भरिएको छ ममा चेतनाको गुरुतर तागत
सिकाएकै हौ
उमेरभन्दा गह्रुँगो भारी बोक्न
बोक्दा बोक्दै तिम्रा बोझहरू
हलौँ हुँदै आए मेरा चेतनाहरू
र सिकाए मलाई उड्न
आज
एउटा उचाइमा पुगेर हेरिरहेछु
तिमी उहीँ छौ र
उसैगरी खोज्दै हिँडिरहेछौ
मेरो नामसँग जोडिएको थर
बोतोडले चलेको परिवर्तनसँगै
छेडेकीछु मैले अर्को आवाज
तिम्रो सत्ताको निस्सा जस्तो मात्र हुने भए
चाहिन्न मलाई त्यो नाम पनि
आज
नामै फेर्ने सामर्थ्य छ मसँग !
Comment Here!