छोरीलाई सन्तान नठान्दा……


प्रकाशित मिति :2020-12-14 12:37:04

-खग प्रसाद चापागाई-

कपिलवस्तु । कपिलवस्तु जिल्लाको यशोधरा गाँउपालिका वडा नम्बर ७ सोमडिह गाउँकै दक्षिण पश्चिम भागमा गरिब दलित बस्ती छ । नेपाल–भारत सिमाको १ सय मिटर सेरोफेरोमै रहेको उक्त गाउँमा दर्जन हाराहारीमा टहरा छन् । ईट्टा र माटोले जोडेको पर्खालको एक कोठे घरमा सात सन्तान सँगै अकाला रैदास बस्छिन् । काखमा डेढ वर्षको छोरा बोकेकी उनको शरीर निकै दुब्लो छ । लाग्छ, उनको शरीरमा मासु नै छैन । हाड छाला मात्रै छ ।

अकाला रैदास अहिले ३८ वर्ष पुगिन् । उनको परिवारमा पोषणको अवस्था दयनीय छ । जुन कुरा उनको शरीरले नै बताइरहेको छ । अर्थात् गरिबीका कारण उनको खानपान समेत कमजोर छ ।

उनले जन्माएका आठ सन्तानमध्ये जेठी छोरीको विहे भइसक्यो । तीन कक्षा पढेर छोडेकी उनको २० वर्ष नपुग्दै भारतमा विहे भएको हो । घरको आर्थिक अवस्था कमजोर भएपछि श्रीमान् नगिना गत वर्ष परिवार पाल्ने खर्चको जोहो गर्न भारतको मुम्बई पुगेका छन् । यता अकालालाई माईली छोरीसहित सात सन्तान् रेखदेखको एकल जिम्मेवारी छ ।

छोराको आसमा सन्तान जन्माउने क्रम नरोक्दा अकालाबाट पाचौँ पटकमा छोरा जन्मिए । तर यो दम्पतीलाई एउटा छोराले मात्रै चित्त बुझेन । र फेरि अर्को छोराको आस गर्दा आठौं सन्तानको रुपमा दोस्रो छोरा जन्मिए । उनका आठ सन्तानमध्ये चौथो सन्तान छोरी र पाचौँ सन्तान छोराले मात्रै गाउँको विद्यालयमा ३ कक्षामा पढ्छन् । गरिबीले थिचेको यो परिवारका छोराछोरीको शिक्षा कहाँसम्म पुग्ने हो अझै अन्योल छ ।

उनीहरुसँग सम्पत्तिको नाममा ३ कठ्ठा जग्गा मात्रै छ । यतिले आठ सन्तानसहित आफ्नो पेट गुजारा गर्न निकै धौ धौ पर्ने गरेको अकालाले बताइन् ।

सुरुमा लगालग तीन छोरी जन्मदा आफूलाई परिवार र छरछिमेकमा ताना सुनाउने गरिएको उनले स्मरण गरिन् । तर जब छोरा जन्मियो, सबैका मुख बन्द भए ।
उनले आठमध्ये अन्तिम छोरालाई मात्रै स्वास्थ्य केन्द्रमा जन्माइन् । अरु सबै घरमै जन्मिए । छोराको चाहानमा आठ सन्तान जन्माएकी उनलाई आर्थिक अभावका बीच पनि दुई छोरा जन्मिएकोमा कता कता सन्तुष्टिको अनुभूति हुने गरेको छ । “एउटा सन्तान त के सन्तान, दुई सन्तान भए अब भने पुग्यो” छोरा मात्रै सन्तान भएको आसय व्यक्त गर्दै उनले भनिन् ।

छोराकै आसमा आठ सन्तान जन्मिएपछि अहिले उनलाई परिवार पाल्न निकै मुस्किल छ । तीनै छोराछोरीको जिउ ढाक्न र पेट पाल्न श्रीमान् भारतमा मजदुरी गर्छन् । शिक्षादीक्षा भगवान भरोसामा छ । कुनै रोग लागे उपचार गर्न सुको छैन । तर पनि आफूले छोरा जन्माउन सकेकोमा गर्व महसुस गर्दै अकालाले भनिन्, “जसरी जन्मिए, उसैगरि हुर्कन्छन् । भगवानको खेल न हो ।”

यशोधरा गाउँपालिकाकै वडा नम्बर ४ को पर्शोहिया गाउँमा पनि मधेसी दलितको सानो बस्ती छ । गाउँको दक्षिणपट्टी रहेको बस्तीमा ईट्टा र माटोको पर्खाल लगाएको एक कोठे पक्की घर छ । पक्की घरको बराण्डामा साँझ बिहान ओत लाग्न दुई वर्ष अघि हालेको परालको छानो । परालको पुरानो छानो नचुहियोस् भन्दै राखिएको प्लास्टिकको त्रिपाल । त्रिपाल ठाउँ ठाउँमा च्यात्तिएको छ । त्यही च्यात्तिएको त्रिपालको आडमा चर्को घाम र कठ्याङ्ग्रिने जाडो खेपिरहेका श्यामलाल रैदास र निर्मला रैदासलाई काखमा छोरा खेलाउने धोको भने बिछट्ट छ ।

यो दम्पतीका अहिले जीवित पाँच सन्तान छन् । पाँचै जना छोरी हुन् । सुरुका दुई छोरीको जन्मिएको एक वर्षपछि मृत्युभयो । ३४ वर्ष उमेरमै निर्मलाले सात सन्तान जन्माइन् । एउटा पाँच महिनाको गर्भ खेर गयो । १५ वर्षको अपरिपक्व उमेरमा सन्तान जन्माएकाले सुरुका दुई छोरीको मृत्यु भएको निर्मला बताउँछिन् । आफ्नो शारीरिक अस्वस्थताकै कारण सातौं पटकको गर्भ समेत खेर गएको उनको भनाई छ ।

उनीहरुसँग १० कठ्ठा जग्गा मात्रै छ । परिवार पाल्न थप मजदुरी गर्छन् । श्रीमान् श्यामलाल दुई वर्ष अघि बिरामी परेर थलिए, उनी अझै पूर्णरुपमा निको हुन सकेका छैनन् । श्रीमान् बिरामी भएपछि ज्याला मजदुरी गर्न कठिनाई छ । जसका कारण आर्थिक अभावले परिवार पाल्न गाहे परेको निर्मलाले बताइन् । यद्यपि रोग, भोक र अभाव जे भए पनि छोरा नभएकोमा भने यो दम्पती बढी दुःखी छ । “छोरी पनि सन्तान हुन् । छोरा नै किन चाहियो त ?” भन्ने प्रश्नमा उनीहरुको संयुक्त उत्तर छ, “छोरी त विहे गरेर अर्काको घर जान्छन् । बुढेसकालमा हाम्लाई स्याहार्न छोरा चाहियो नि !”

श्यामलाल र निर्मलामा छोराप्रतिको लालसा यति विघ्न छ कि, कतै छोरा जन्मी पो हाल्छ कि ! भनेर उनीहरुले परिवार नियोजनका कुनै पनि स्थाई वा अस्थाई साधन प्रयोग गरेका छैनन् । “पाँच छोरी छन् । पालन पोषणमा समस्या छ । तर ‘सन्तान’ नभएकाले अझै छोराको आस मरेको छैन” निर्मलाले भनिन्, “सात छोरी दिन सक्ने ईश्वरले एक सन्तान (छोरा) दिएको भए के बिग्रिन्थ्यो र ?”

छोरी जन्माएको आरोपमा श्रीमान्ले छाडे

यशोधराको पर्शोहियाकै ३१ वर्षीया राधिका रैदासले छोरा नपाएको आरोपमा श्रीमान्को साथ नै गुमाउनुपर्यो । १४ वर्षको उमेरमा मागी विवाह गरेकी उनले १६ वर्ष नपुग्दै पहिलो छोरी र त्यसको दुई वर्षपछि अर्की छोरी जन्माइन् । दुई छोरी जन्मिएपछि राधिकालाई श्रीमान्बाट छोरा नजन्माएको भन्दै मानसिक र शारीरिक यातनाहरु हुन थाल्यो । जसरी पनि छोरा पाउनै पर्ने श्रीमान्को दबाबका बीच सन्तान जन्माउने क्रम जारी रह्यो ।

ज्याला मजदुरीले जीविका चलाउने यो परिवारमा राधिका लगातार गर्भवती–सुत्केरी हुन थालेपछि आर्थिक बोझ थपिदै गयो । उनले ज्याला मजदुरी पनि गर्न सकिनन् । आर्थिक अभावले झनै पीडा दिन थाल्यो । छोराकै आसमा उनका ५ छोरी जन्मिए । पाँचौ पटकमा पनि छोरा नजन्मिएपछि ६ वर्ष अघि उनका श्रीमान्ले अर्को विवाह गरि भारत गए ।

श्रीमतीकै कारण छोरा नजन्मिएको भन्ने गलत मान्यताका आधारमा श्रीमान्ले श्रीमती र पाँच छोरीसहितको परिवारलाई छोडेर अर्कै विवाह गरेपछि परिवार पाल्ने एकल जिम्मेवारी राधिकाको काँधमा छ ।

घरमा आर्थिक अभाव र समस्या भएपछि राधिकाकी जेठी छोरीले पाँच कक्षा पढ्दापढ्दै विद्यालय छोडिन् । उनले अहिले आमालाई काममा सघाउँछिन् । भाग्यमा नहुँदा छोरा नजन्मिएको बुझाइमा राधिका छन् । पाँचपटक सन्तान जन्माउँदा, राम्रो खानपान नहुँदा उनको शरीर जीर्ण छ । सायद छोरा जन्मेको भए श्रीमान्ले छोडेर जाने अवस्था आउने थिएन कि भन्ने उनको बुझाई छ । “छोराको आसमा पाँच छोरी भए । छोरा नजन्मिदा धेरै सन्तान जन्माएर दुखः खेप्नुप¥यो” राधिका भन्छिन् ।

कपिलवस्तु जिल्लाको यशोधराकी अकाला रैदास, जसले छोराको आसमा ८ सन्तान जन्माइन् ।

परिवारलाई समस्यै समस्या

प्रस्तुत गरिएका घटना प्रतिनिधी घटना मात्रै हुन् । कपिलवस्तुसहितका तराई मधेसका जिल्लामा छोराको आसमा दुई भन्दा बढी सन्तान जन्माउने क्रम रोकिएको छैन । छोरीलाई सन्तान नठान्ने र एउटा छोरालाई मात्रै पनि सुरक्षित महसुस नगर्नुले जनसङ्ख्या बृद्धिलाई प्रत्यक्ष सहयोग पुर्याएको देखिन्छ ।

यसरी सन्तान बढी जन्माउँदा हुने आर्थिक समस्याका कारण छोरीको लालनपालन, खानपान, शिक्षादीक्षामा मात्रै होईन बालविवाह पनि उत्प्रेरित हुने गरेको बताउँछिन्, अधिकारकर्मी पुष्पा रेग्मी ।

रेग्मीका अनुसार बढी सन्तान जन्माउने परिवार आर्थिक रुपमा कमजोर हुने, घरायसी झै झगडा भइरहने, मदिरा र लागु औषधको कुलतमा फस्ने गरेका छन् । सन्तान बढी भएकै कारण परिवार व्यवस्थापनको खर्च बढ्दा यस्ता परिवार आर्थिक रुपले बिपन्न भई सबै खाले समस्यामा जेलिने गरेका छन् ।

लैंङ्गिक हिंसा र विभेदलाई प्रसय

वंश चलाउनुपर्ने, दाईजो पाईने, सम्पत्तिको सुरक्षा हुने लगायतका गलत मान्यताकै कारण छोरा जन्माउने आसमा बढी सन्तान जन्मिने क्रम बढेको देखिन्छ । बढी सन्तान जन्मदा परिवारमा विभेद र हिंसाको दायरा समेत फराकिलो हुन थालेको अर्की महिला अधिकारकर्मी बिमला घिमिरेको बुझाई छ ।

आठ सन्तानकी आमा अकालाको अहिलेसम्म नागरिकता बनेको छैन । बिवाह भए पछि हात मुख जोर्न नै समस्या भएको उनको परिवारले नागरिकता बनाउने कामलाई महत्व नै दिएन । अहिले नागरिकता नहुदाँ मतदाता नामावली सहितका सबै काम रोक्किने भए पछि मात्रै नागरिकताको आवश्यकता महसुुस हुन थालेको छ ।

सन्तानले पहिचान खोज्ने बेला अकाला अझैसम्म पहिचानविहीन छन् । त्यति मात्रै होईन, ठूलो पारिवारिक संरचनाकै कारण दुई छोरी शिक्षाबाट पूर्ण बञ्चित भएका छन् भने जेठी छोरी बालविवाह गर्न बाध्य भएकी छन् । अकालाका सन्तानले पाउनुपर्ने बाल अधिकार सरासरी हनन भएको छ ।

त्यस्तै अवस्था पर्रोहियाकी निर्मलाका पाँच छोरीको पनि छ । उनका बाबु आमाले उनलाई सन्तानै मानेका छैनन् । बाबु बिरामी भएर परिवार चल्न समस्या भए पनि उनीहरुको छोरा पाउने आस नमर्दा छोरीहरुको लालनपालन, पोषण र शिक्षा पूर्ण प्रभावित बनेको छ ।

त्यही गाउँकी राधिकाकी जेठी छोरीले घरकै अवस्थाका कारण बीचमै पढाई छोडेर आमालाई सहयोग गर्नुपरेको छ । उनको परिवारका अन्य छोरीको शिक्षाको निरन्तरताको समेत कुनै टुङ्गो छैन । छोरीमात्रै जन्माएको भन्दै समाज र परिवारका सदस्यले गर्ने मानसिक यातनाको त झन कुनै लेखाजोखा नै भएको देखिदैन ।

सन्तान बढी हुँदा बालविवाह, घरेलु हिंसा, बहुविवाह, कुपोषण, अनिच्छित गर्भपतन, नागरिकता लगायतका प्रमाणपत्र नबनाउनु, शिक्षा र स्वास्थ्य सेवाबाट बञ्चित गराउनु लगायतका समस्या परिवारको जनसङ्ख्या बढ्दा स्वतहः बृद्धि हुने गरेको देखिन्छ । ती महिला र उनका परिवारका सदस्य शारीरिक र सामाजिक मात्रै होइन, मानसिक हिंसाको पनि शिकार भएका देखिन्छन् । तर उनीहरुको मानसिक हिंसाको मापन गर्ने कुनै आधार नै नभएको अधिकारकर्मी घिमिरे बताउँछिन् । “महिला हिंसाका कारणहरुमा सन्तानमा छोराको आसका कारण गरिने व्यवहारसमेत देखिएको छ” घिमिरे भन्छिन्, “छोरा नजन्मिएरसम्म सन्तान नै भएन भन्ने गलत मान्यताले छोरीमाथिको विभेदलाई मलजल गरेको छ ।”

जोखीममा गर्भवती आमा

नेपाल जनसाङ्खिक तथा स्वास्थ्य सर्वेक्षण (२०१४–१६) का अनुसार नेपालको कुल प्रजनन् दर २ दशमलव ३ छ । त्यसैगरि लुम्बिनी प्रदेशको कुल प्रजनन् दर २ दशमलब ४ छ । कपिलवस्तु जिल्लाको कुल प्रजनन् दरसमेत सोही अनुपातमा छ ।

स्वास्थ्य कार्यालय कपिलवस्तुको तथ्याङ्क अनुसार कुल ६ लाख ६४ हजार ६ सय ७४ जनसङ्ख्या अनुमान गरिएको कपिलवस्तुमा गत वर्षसम्म अनुमानित जीवित जन्म १३ हजार ८ सय ५८ हुने गरेको देखिन्छ । नेपाल सरकारको स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीको तथ्याङ्क अनुसार कपिलवस्तुमा आर्थिक वर्ष २०७६–०७७ मा ७ हजार १ सय ३३ जनाले स्वास्थ्य संस्थाबाट प्रसूतिकर्मी र स्वास्थ्यकर्मी तथा ४५ जनाले घरमै स्वास्थ्यकर्मीको निगरानीमा प्रसूति सेवा लिएका छन् । तथ्याङ्क अनुसार अझै पनि ठूलो सङ्ख्यामा गर्भवती महिलाले लिने प्रसूति सेवामा स्वास्थ्य संस्थाको पहुँच हुन नसकेको देखिन्छ ।

प्रसूतिका बेला स्वास्थ्य सेवामा पहुँच नहुँदा जोखिमको दायरासमेत बढेको छ । सन्तान बढी जन्माउने र अधिकांस महिला स्वास्थ्य केन्द्रमा नपुग्दा जोखिमको दायरा बढदै गएको देखिन्छ । सन्तान बढी जन्माएका महिलाहरुमा कुपोषण, रक्त अल्पता, सामान्य प्रसूति गराउन समस्या, आङ खस्ने समस्या, सुत्केरी पश्चात् रक्तश्रावलगायतका समस्या देखिने गरेको स्वास्थ्य कार्यालय कपिलवस्तुले सञ्चालन गरेको मातृ शिशुु स्वास्थ्य क्लिनिक तौलिहवामा कार्यरत अनमी उमा थापा बताउँछिन् ।

थापाका अनुसार जिल्लामा छोराको चाहनाले धेरै सन्तान जन्माएका महिलाहरुले भोग्दै आएको मुख्य समस्यामध्ये पाठेघरको मुख खस्ने (आङ खस्ने) समस्या पनि एक हो ।

स्वास्थ्य कार्यालय कपिलवस्तुले गत आर्थिक वर्षमा भारतसँग सिमा जोडिएका सदरमुकामका दुई दक्षिण पश्चिमी पालिकामा आङ खस्ने समस्याको उपचारका लागी भीआईए क्याम्प चलाएको थियो । भीआईए क्याम्पमा उपचारका लागी आएका महिलामध्ये १८ प्रतिशत बढीमा आङ खस्ने समस्या देखिएको स्वास्थ्य कार्यालय कपिलवस्तुका हेल्थ असिस्टेन्ट उमेशचन्द्र घिमिरेले जानकारी दिए ।

घिमिरेका अनुसार जिल्लाको कृष्णनगर नगरपालिका र महाराजगंज नगरपालिकामा आयोजना गरिएको क्याम्पमा ४ सय ५० महिला परीक्षणका लागी आएका थिए । जसमा ८२ जना महिलामा आङ खस्ने समस्या देखिएको थियो । तीमध्ये ग्रेड ३ मा रहेका १७ महिलालाई अप्रेशनका लागी रिफर गरिएको थियो भने ६५ जना महिलालाई रिङ पेशरी राखिएको थियो । आङ खस्ने समस्या देखिनेमा राष्ट्रिय कुल प्रजनन् दर (२ दशमलब ३) को सापेक्षिक तुलनामा बढी प्रजनन् दर रहेका महिलामा यो समस्या बढी देखिएको घिमिरेले स्पष्ट पारे । “शिबिरमा आएकामध्ये सन्तान धेरै जन्माएका मुस्लिम र मधेसी दलित महिलामा आङ खस्ने समस्या बढी देखिएको छ” उनले स्पष्ट पार्दै भने । सन्तान बढी जन्माउँदा कतिपय महिलाहरुमा आङ खस्ने समस्यासहितका जोखिम हुने गरेको कपिलवस्तुको पिपरा अस्पतालकी निमित्त मेडिकल सुपरिडेन्टेन डाक्टर रञ्जिता कुमारी महतो (गुप्ता ) बताउँछिन् ।

कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका ४ पर्शोहियाकी निर्मला रैदास । छोराको आसमा उनले ७ छोरी जन्माएकी छन् ।

तथ्याङ्क भन्छ, ‘कम जन्मन थाले छोरी’

कानुनले भ्रूण पहिचानपछिको गर्भपतनलाई दण्डनीय बनाएको छ । तर समाजमा अझै पनि भ्रूण पहिचान गरि गर्भपतन गराउने क्रम नरोकिएको विभिन्न तथ्याङ्कले प्रष्ट्याएको छ ।

छोराको आसमा बढी सन्तान जन्माउने क्रमको विकाससँगै पछिल्लो समय भ्रूण पहिचान गरि छोरा देखिए गर्भ राख्ने नत्र गर्भपतन गर्ने क्रमले लैङ्गिक अनुपातमासमेत परिर्वतन आउन थालेको छ ।

नेपाल सरकारको स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीको तथ्याङ्क अनुसार जिल्लामा गत आर्थिक २०७६–०७७ को अवधिमा जिल्लामा कुल शिशुुको जीवित जन्म ६ हजार ७ सय ३९ जना छ । जस्मा बालकको सङ्ख्या ३ हजार ४ सय ८३ र बालिकाको सङ्ख्या ३ हजार २ सय ५६ जना रहेको छ । अर्थात् जिल्लामा गत आर्थिक वर्षमा भएको जीवित जन्ममा प्रति १ सय महिला बराबर १ सय ६ दशमलब ९७ लैङ्गिक अनुपातमा पुरुष जन्मिएको देखिन्छ । सो तथ्याङ्कले केही वर्ष पश्चात् महिलाको तुलनामा पुरुषको सङ्ख्या बढी हुने प्रष्ट देखिन आएको छ ।
जिल्लाकै नमूनामध्यको एक शिवराज नगरपालिका १ मा रहेको शिवपुर स्वास्थ्य चौकीमा कार्यरत अनमी अरुणा रायमाझीका अनुसार बर्थिङ सेन्टरमा जन्मनेहरुमा बालिका भन्दा बालकको तुलनात्मक सङ्ख्या बढी छ ।
“सन्तान रहरले भन्दा पनि करले जन्माउने क्रम बढी देखिन थालेको छ । कतिपयले त छोरा जन्माउने आसमा भ्रूण पहिचान गराउने स्थल कता छ भन्दै सोधखोजसमेत गर्छन्” मातृ शिशु स्वास्थ्य क्लिनिक तौलिहवामा कार्यरत अनमी उमा थापाले अनुभव सुनाइन् ।

‘वंशवादका लागी छोराको आस’

अधिकांश दम्पतीले छोरा नै जन्माउन चाहानुको सामाजिक र साँस्कृतिक कारणहरुमा छोरी विवाह पश्चात् अरुको घरमा जाने, छोराले राम्रो रेखदेख गर्नुका साथै छोराले तर्पण दिए स्वर्गको ढोका खोलिन्छ भन्ने गलत र रुढिवादी सोच हो भन्छन्, भैरहवा बहुमुखी क्याम्पसका सह प्राध्यापकसमेत रहि सकेका समाजशास्त्री उमेशचन्द्र रिजाल । यस्तो सोच बदल्न नसक्नुमा कानुनको फितलो कार्यान्वयन र सचेतना प्रवाहमा सरकारको ध्यान नजानु मुख्य दोष भएको रिजालको बुझाई छ ।

यी मान्यता सरासर गलत र युग सुहाउँदो नरहेको उनको तर्क छ । छोरा नै हुनुपर्ने रुढिवादी मान्यताका कारण एउटा महिला वा उसको परिवार मात्रै नभई छोरीहरुको सङ्ख्यामा कमी आउने र समाजकै सन्तुलन बिग्रीने खतरा रहेको समाजशास्त्री रिजाल बताउँछन् ।
छोरा नभए वंश नै निमिट्यान्न हुन्छ भन्ने मान्यताबाट ग्रसितहरुले छोरा जन्माउन खोज्ने गरेको अबधी संस्कृती संरक्षणमा लागेका अबधी साँस्कृतिक विकास परिषद् नेपालका जिल्ला सचिव राधबेन्द्र कुमार श्रीवास्तव बताउँछन् ।

केही समुदायमा धार्मिक कट्टरता र केहीमा जनचेतनाको अभावमा छोरीको तुलनामा छोरालाई महत्व बढी दिईएको श्रीवास्तवको बुझाई छ । “छोरी विवाहपछि श्रीमान्को घर जाने र अर्कै वंशमा गणना गरिदा आफ्नो वंश नै निर्मुल हुन्छ भन्ने रुढिवादी मान्यताले छोरा जन्माउनु पर्छ भन्ने सोचलाई प्रसय दिएको छ” उनी भन्छन् । यस्तो सोच गलत भएको र सचेतना प्रवाहका लागी वौद्धिक वर्ग र धार्मिक मञ्चबाट छोरा र छोरी समान भएको प्रचारप्रसार हुन आवश्यक रहेको उनको भनाई छ ।

तस्बिर : खग प्रसाद चापागाई/कपिलवस्तु

 

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: