-कविता राई-
आँखामा सक्कली निरीहता ओढेर
बाँचिरहेछु सृष्टिभ्रम
असती समयको जाँतोले किचिएर
पिलिएको छातिबाट
ओकलिरहेछु अप्राकृतिक लय !
पुस्तौनी जाली सम्झौतामा
साँघुरिएको निष्ठूर मन
धमिरा लागेको निरङ्कुश पिँजडा देश
पलपलमा ब्युँतन्छ र,
उमार्छ नानाभाँती रहर
नाथे यो सुगा मन !
नयाँ प्वाँख फेरिन्छ भनी काटिएको पखेटा…….
मिठो बोली आउछ भनी काटिएको जिब्रो…….
फूलबारी …
आगन….
कसरी भरियो सौन्दर्य धुन
कसरी निल्दैछौ खुशीको स्वाद !
मान्छे!
त्यागको कुनै सिमाना हुन्न रैुछ हगि ?
पिँजडाको संविधान लेखिन्न रैूछ हगि ?
बग्ने खोलाको गीत
उड्ने हावाको सुसाइ
चराको चिरविर आवज
यो सबै सबैको कुनै अक्षर हुन्न रहेछ हगि ?
Comment Here!